काठमाडौँ, असार २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।

संसद्का दुई ठूला दल नेपाली काङ्ग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेको बताइएको छ ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने प्रयोजनका लागि आज शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

२०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्ड एमालेसहित एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँले नियुक्त भएको १५ दिनपछि पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । त्यसको झन्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले २०८० साल फागुन ३० गते नेपाली काङ्ग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि पुनःतेस्रोपटक विश्वासको मत लिनुभएको थियो ।


त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ साल जेठ ७ गते विपक्षी दलको संसद् बैठक अवरोधकैबीच पनि चौथोपटक विश्वासको मत लिनुभएको थियो ।


संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार हाल नेपाली काङ्ग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सत्ता समीकरणका लागि सहमति भएर एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डले आज असार २८ गते पाँचौं पटक विश्वासको मत लिन लाग्नुभएको हो ।


२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने प्रायः निश्चित छ । काङ्ग्रेस, एमाले, राप्रपासहितका अन्य साना दलहरू विपक्षमा उभिएकोले प्रचण्डले विश्वासको मत पाउने सम्भावना न्यून छ ।