फाइल तस्वीर


चितवन, असार २८ गते । देशकै लाइफ लाईन मानिएको नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका छन् । रातिदेखि परेको अविरल वर्षाका कारण आज शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले बस त्रिशुली नदीमा खसेर बेपत्ता भएका हुन् ।

दुवै यात्रुवाहक बसमा चालकसहित ६५ जना रहेको बताइएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उक्त घटना आज बिहान साढे ३ बजे घटेको हो । काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको यात्रुवाहक बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेका हुन् ।

त्रिशुली नदीमा खसेको दुई बसमध्ये एउटाको अलिकति भाग देखिएको र अर्को बसको कुनै नामनिसाना नदेखिएको प्रहरीले जनाएको छ । गणपत्रि डिलक्स बसमा यात्रा गरिरहेका मध्ये तीन जना यात्रु बसबाट हामफालेर बाँच्न सफल भएको बताइएको छ ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको गणपति डिलक्स बसमा ४१ र काठमाडौँ जाँदै गरेको एञ्जल बसमा २४ जना यात्रु रहेका थिए । प्रजिअ यादवले भन्नुभयो, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइनसकेको बताउनुभयो । उक्त सडक खण्डमा यतिबेला पूर्णरुपमा बन्द भएको छ ।