फाइल तस्वीरः एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला ।


काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बहिर्गमित भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न आज ह्वीप जारी गरेको छ । एमाले सचिवालयको बैठक पछि एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले आफ्ना पार्टीका सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो ।

प्रमुख सचेतक बर्ताैलाद्वारा जारी गरिएको ह्वीपमा ‘यही असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित भइ प्रधानमन्त्री पुष्पकमल दाहालले बिश्वासको मतका लागि राख्नु भएको प्रस्तावको विपक्षमा मतदान गर्नुहुन ह्विप जारी गरिएको जानकारी गराउन चाहन्छु, भनि उल्लेख गरिएको छ ।

अघिल्लो हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसबीच नयाँ सरकार बनाउन सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नुभएको छ । अल्पमतमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डले २८ गते शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । कुनै नाटकीय परिवर्तन नभएमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने कुनै सम्भावना छैन । प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र नेकपा एकीकृत समाजवादीमात्रै रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत नपुग्ने निश्चित छ ।