फाइल तस्वीर: एमाले उपमहासचिव प्रदीप ज्ञवाली ।


काठमाडौँ, असार २६ गते । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अब बन्ने एमाले–काङ्ग्रेसको गठबन्धन सरकार बन्न संविधानको धारा ७६ को उपधारा २ बाधक नहुने निष्कर्ष निकालेको छ ।

आज बसेको एमाले सचिवालय बैठकले गरेको निर्णय सुनाउने क्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले–काङ्ग्रेसको गठबन्धनमा बन्ने सरकार संविधानको धारा ७६ को २ अनुसार नै बन्ने बताउनुभयो ।

अहिले संविधानको धारा २ कि ३ भनेर चलाइएको चर्चा औचित्यहीन भएको बताउँदै नेता ज्ञवालीले भन्नुभयो ‘७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता छैन । अहिले उपधारा ३ कि २ भनेर चलाइएको चर्चा भ्रम फिँजाउनका लागि मात्र भएको हो ।’

एमाले उपमहासचिव ज्ञवालीले ‘यसभन्दा अगाडि पनि पटक पटक संसदीय अभ्यासमा प्रयोग भइसकेको’ उल्लेख गर्दै २०७८ सालमा नेकपा एमालेकै कतिपय सदस्यहरूको अनुपस्थितिका कारण त्यो बेला विश्वासको मतको पक्षमा बहुमत नपुगेर केपी शर्मा ओलीले राजीनामा दिनुभएको र तात्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गर्न दलहरुलाई आह्वान गर्नुभएको स्मरण गराउनुभएको थियो ।

एमालेका अध्यक्ष एवम् तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल वैशाखमा सदनमा विश्वासको मत माग्नुभएको थियो । त्यसबेला ओलीले संसदबाट विश्वासको मत पाउन नसकेपछि सत्ताच्युत हुनुपरेको थियो । त्यसपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

केही समय अघिमात्रै कोशी प्रदेश सरकारको हकमा पनि सर्वोच्च अदालतले एउटै धाराबाट पनि पटक पटक सरकार बन्न सक्छन् भन्ने नजिर स्थापना भएको भन्दै एमाले नेता ज्ञवालीले अब बन्न सरकार पनि धारा ७६ (२) अनुसार नै बन्ने दावी गर्नुभएको छ ।