तस्वीरमा माओवादी केन्द्र संसदीय दलको जारी बैठक ।


काठमाडौँ, असार २६ गते । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको छ ।

देशको बदलिंदो राजनीतिक घटनाक्रम, प्रधानमन्त्रीले पर्सी २८ गते शुक्रबार संसदमा लिने विश्वासको मत, काङ्ग्रेस—एमालेबीचको गठबन्धनबाट बन्ने नयाँ सरकारलगायतका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

माओवादी नेतृत्वको सरकारबाट एक्कासी बाहिरिएको एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसबीच अघिल्लो हप्ता १७ गते सोमबार मध्यरातमा भएको सत्ता सहकार्य गर्ने समझदारी भएपछि यतिबेला नेपाली राजनीति तातेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १८ महिनासम्म सरकारको नेतृत्व गर्दै आउनुभएको छ । २०७९ पौष १० गते प्रधानमन्त्री बन्नुभएका प्रचण्ड यतिबेला अल्पमतमा पर्नुभएको छ ।

संसद्बाट यस अघि चार पटकसम्म विश्वासको मत लिइसक्नुभएका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसद्मा विश्वासको मतको फेस गर्दै हुनुहुन्छ । संसदमा पहिलो पटक विश्वासको मत लिंदा ९९ दशमलव २५ प्रतिशत विश्वासको मत प्राप्त गर्नुभएका प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वास गुमाउँदै जाँदा यस पटक भने उहाँले विश्वासको मत पाउने अवस्था छैन ।

शुक्रबारदेखि सत्ताच्युत हुने माओवादी केन्द्र पहिलो पटक प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल बन्ने भएको छ । संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले सदनमा प्रमुख प्रतिपक्षी दलको रुपमा कस्तो भूमिका निर्वाह गर्ला त्यो त भविश्यले देखाउने छ ।