तस्वीरमा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली ।


काठमाडौँ, असार २६ गते पूर्वप्रधानमन्त्री एवम् संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीले संविधान संशोधनका लागि नेपाली काङ्ग्रेससँग आयोग बनाउने विषयमा कुनै सहमति नभएको बताउनुभएको छ । ललितपुरको च्यालस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बुधवार बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो खुलासा गर्नुभएको हो ।

अध्यक्ष ओलीले काङग्रेस र एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउन कुनै सहमति नभएको जिकिर गर्दै अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको उल्लेख गर्नुभएको छ ।


एमाले अध्यक्ष ओलीले निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको भन्नुहुँदै आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्नुभयो । राष्ट्रिय हितको रक्षा र संवर्द्धन गर्न र समृद्ध नेपाल, सुखी नेपाली बनाउन संविधानमा आवश्यक संशोधन हुने बताउनुभएको छ ।

एमाले संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष ओलीले एमाले र काङ्ग्रेस मिल्दा संविधान अराजकता, अन्यौलता र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैल्याउनका लागि बोलिएको भन्दै प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्नको लागि काङ्ग्रेससँग एमाले मिलेको बताउनुभयो ।

वर्तमान प्रचण्ड नेतृत्वको सरकारले देशलाई भ्रष्टाचार तिर लैजाने काम गरेकोले एमाले काङग्रेस मिलेर यस्तो काम रोक्न लागेको दावी समेत गर्नुभयो । सरकारले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई बेवास्ता गरेको र स्वार्थलाई अग्र भागमा राखेको उल्लेख गर्नुहुँदै सङ्घीयतालाई असफल बनाउने कोशिस गरेकोले आफुहरुले सत्ता समीकरण फेर्नुपरेको दावी गर्नुभयो ।

नेता ओलीले संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिंदै संविधान गतिशील, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकूल परिमार्जन हुने जिकिरसमेत गर्नुभयो ।

‘काङ्ग्रेससँग मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो’ भन्नुहुँदै एमाले अध्यक्ष ओलीले ‘एमाले र काङग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ जाने भन्ने कुरा भ्रम फैल्याउने प्रयत्न हो भन्नुभयो ।