एमाले सचिवालय बैठकको फाइल तस्वीर ।


काठमाडौँ, असार २६ गते । सत्तारोहणको सङ्घारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दै छ । एमाले सचिवालयको बैठक आज बुधबार बिहान ११ बजे बस्ने भएको हो ।

प्रतिनिधिसभाको ठूलो दल नेपाली काङ्ग्रेसको बैशाखी टेकेर पुनःसत्तारोहण गर्न लागेको एमालेको आज बस्ने सचिवालय बैठकमा पर्सी २८ गते पार्टी अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सत्तासमीकरणको केन्द्रविन्दुमा बसेर छलफल हुने बताइएको छ । देशको बदलिंदो राजनीति परिवेश, पार्टी अध्यक्षको नेतृत्वमा बन्ने नयाँ सरकारमा कसकसलाई मन्त्रीमा पठाउने भन्ने विषयलगायत पार्टीको कामको कार्यविभाजनका बारेमा समेत आजको बैठकमा छलफल हुने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससँग असार १७ गते मध्यरातमा भएको छलफल र सहमतिबाट एकाएक फेरिएको राजनीति घटनाक्रमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेपछि एमालेमा खुसीको नयाँ तरङ्ग देखिएको छ । प्रधानमन्त्री प्रचण्डले पर्सी असार २८ गते संसद्मा लिने विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे आजको बैठकमा छलफल हुनेछ ।

हिजो मङ्गलबारका लागि तय भएको एमाले सचिवालयको बैठक अध्यक्ष ओलीको स्वास्थ्य अवस्था प्रतिकुल भएपछि सो बैठक स्थगित हुन पुगेको थियो ।