फाइल तस्वीर
काठमाडौँ, असार २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज बोलाइएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज मङ्गलबारका लागि बोलाइएको बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

सो कुराको जानकारी केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले दिनुभएको हो । एमाले र काङ्ग्रेसबीच एक साताअघि सत्ता समीकरणको नयाँ गठबन्धन बनेसँगै सरकार सञ्चालनका मन्त्रालयको विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते शुक्रबार प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिनका लागि प्रस्ताव गर्नुहुने र विश्वासको मत प्राप्त नभएमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाउनुहुने सम्भावना ज्यादै न्यून छ । प्रधानमन्त्रीको पक्षमा नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र नेकपा एकीकृत समाजवादीको बाहेक संसद्मा प्रतिनिधित्व गर्ने कुनै पनि दलले मतदान गर्ने अवस्था देखिएको छैन ।