फाइल तस्वीर
काठमाडौँ, असार २२ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी संसदीय दलको बैठक बोलाएको छ । काङ्ग्रेस संसदीय दलको बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो ३ बजे बस्ने भएको हो ।

असार १७ गते सोमबार मध्यरातमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग नयाँ गठबन्धन गरेर सत्ता सहकार्यको सहमति भएपछि सांसदहरुलाई सो सम्बन्धमा जानकारी गराउन बैठक बस्न लागेको काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउनुभएको छ ।

काङग्रेस केन्द्रीय कार्यसम्पादन समितिको असार १९ गते बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमतिलाई अनुमोदन गरेपछि आज संसंदीय दलको बैठक बोलाइएको हो । प्रधानमन्त्रीले यही असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको बेला काङ्ग्रेसले पार्टी केन्द्रीय समितिको निर्णयलाई अनुमोदन गर्ने बताइएको छ ।