फाइल तस्वीर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।


काठमाडौँ, असार २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी एक सातापछि संसद्मा विश्वासको मत लिने व्यवस्थाका लागि संसद सचिवालयलाई पत्राचार गर्नुभएको छ । असार २८ गते विश्वासको मत जानकारी गराउँदै आज शुक्रबार संसद सचिवालयलाई पत्राचार गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्का महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

संसद् सचिवालयलाई पठाउनु भएको पत्रमा प्रधानमन्त्रीले ‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, भनि उल्लेख गर्नुभएको छ ।

असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । लगत्तै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

सत्तासाझेदार दल एमाले र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन आग्रह गरेता पनि प्रधानमन्त्रीले संसद्मार्फत विश्वासको मत लिने बताउँदै सोहीअनुसार पत्राचार गर्नुभएको छ ।

वि.सं. २०७९ पुष १० गते प्रधानमन्त्री बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १८ महिनाको अवधिमा पाँचौं पटक विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले पहिलो पटक २०७९ पुष २६ गते, दोस्रो पटक २०७९ चैत ६ गते, तेस्रो पटक २०८० फागुन ३० गते र चौंथो पटक २०८१ जेठ ७ गते संसद्बाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । अब पाँचौं पटक २०८१ असार २८ गते विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।