फाइल तस्वीर
काठमाडौँ, असार २० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को नेतृत्व पुनः माधवकुमार नेपाललाई दिन नेताहरु सहमत हुनुभएको छ । काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबीच लामो रस्साकस्सी र छलफल पछि पार्टीको आगामी नेतृत्व पुनः नेपाललाई नै दिन सहमत जुटेको हो ।

अध्यक्षमा नेपाल सर्वसम्मत हुनुभएकोले अन्य पदाधिकारीमा पनि सहमति जुटाउन नेताहरुले प्रयास गरिरहनुभएको बताइएको छ । पदाधिकारीमा पनि सहमति जुटेमा केन्द्रीय सदस्य पनि सहमतिमा चयन गर्ने सम्बन्धमा नेताहरुबीच छलफल भएको बुझिएको छ ।

पार्टी अध्यक्षका लागि आकाङक्षी देखिनुभएका झलनाथ खनाल र घनश्याम भुषालले अध्यक्ष नेपाललाई समर्थन गरेपछि भूषाललाई पार्टीको वरिष्ठ उपाध्यक्ष वा महासचिवमध्ये एक पद दिन छलफलमा जुटेका नेताहरु सहमतिको नजिक पुगेको बताइएको छ ।

एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटीको बनाउने निर्णय गरेको थियो । तर नेताहरुको व्यवस्था गर्नु पर्ने भएकाले सहमतिमा नै केन्द्रीय सदस्यको सङ्ख्या ३९९ बनाउने गृहकार्य भएको छ ।

केन्द्रीय सदस्यहरुमा सहमति जुट्न नसके निर्वाचनमा जानुपर्ने हुन्छ । आज बिहीबार साँझसम्ममा केन्द्रीय सदस्यहरुको निक्र्योल गरी पार्टीको दशौँ महाधिवेशन अन्त्य गर्ने तयारी भएको छ । असार १६ गतेबाट सुरु भएको महाधिवेशनले चौथो दिन विभिन्न प्रतिवेदनहरू पारित गरिसकेको छ ।