काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामाबारे छलफल गर्न आज बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरू प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा नदिई फर्किएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद् सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेकोले राजीनामा नबुझाएको जानकारी दिनुभयो ।

रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले आफू संवैधानिक अधिकार प्रयोग गर्ने बताउनुभएपछि त्यतिन्जेलसम्म आफूहरू पर्खिन तयार भएको बताउँदै रास्वपाका प्रमुख सचेतक परियारले प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आफूहरुले आग्रह गरेको बताउनुभयो । विश्वासको मत लिन प्रधानमन्त्रीलाई संविधानले ३० दिनको सुविधा दिएको छ ।