फाइल तस्वीर


काठमाडौँ, असार २० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को जारी दशौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज समापना हुँदैछ । आइतबारदेखि काठमाडौँमा सुरु भएको एकीकृत समाजवादीको उक्त महाधिवेशन आज बिहीबार सम्पन्न हुन लागेको हो ।

महाधिवेशनमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनहरुमाथि छलफल गरी हिजो पारित भएको थियो । प्रस्तावहरुलाई महाधिवेशनले पास गरेपछि नेताहरु आगामी नेतृत्व सहमतिमा टुङ्ग्याउन छलफलमा जुट्नुभएको छ ।

शीर्ष नेताहरु पार्टी अध्यक्ष र महासचिवको पदमा सहमति जुटाएर निर्विरोध गराउने र अन्य पदहरुका लागि निर्वाचन प्रक्रियामा जान तयार भएको स्रोतको भनाइ छ ।

नेतृत्वमा सहमति जुटाउन नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बेदुराम भुसाल, घनश्याम भुसाल र राजेन्द्र पाण्डेलगायतका नेताहरू सहमति खोज्न जुट्नुभएको छ । महाधिवेशन अन्त्यको सङ्घारमा पुगेको एकीकृत समाजवादीको आगामी नेतृत्वका लागि आज बिहीबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।

नयाँ नेतृत्व चयनका सवालमा शीर्ष नेताहरू सहमतिमै टुङ्ग्याउने पक्षमा छन् भने महाधिवेशन प्रतिनिधिहरू अध्यक्ष र महासचिवबाहेक अन्य पदमा मतदानमार्फत प्रतिस्पर्धा हुने देखिएको छ । पदाधिकारीका आकाङ्क्षीहरु धेरै भएकाले सहमतिमा व्यवस्थापन गर्न नसकिने अवस्था देखिएपछि निर्वाचनमा जानुपर्ने पक्षमा नेताहरु देखिन्छन् ।

महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले अगाडि सारेका समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका मागलाई समाजवादी कार्यक्रमका अभिन्न अङ्ग बनेको आशयको दस्तावेज पेश गर्नुभएको थियो । सो दस्ताबेज सुझावसहित महाधिवेशन हलले पारित गरिसकेको छ । पार्टीको नेतृत्व पुनः नेपालको पोल्टामा जाने देखिएको छ ।