फाइल तस्वीरः प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।


काठमाडौँ, असार २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वका सरकार अल्पमतमा परेको हो ।

गत फागुन २१ गते मध्यरातमा संसद्को सबैभन्दा ठूलो दलसँगको सत्ता सहकार्य त्यागेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सँग सत्ता नयाँ समीकरण बदल्नु भएका प्रधानमन्त्री प्रचण्डलाई चार महिना पुग्नासाथ एमालेले वर्तमान गडबन्धन तोडेर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेससँग असार १७ गते सोमबार मध्यरातमै आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति गरेको थियो । एमाले र काङ्ग्रेसबीचको कार्यान्वयन गर्न एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट गहिर्गमित हुँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

एमालेका मन्त्रीहरुले हिजो बुधबार बेलुका नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सामुहिक राजीनामा बुझाउनु भएको थियो । अस्ति मङ्गलबार अपरान्ह भएको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

एमालेले मङ्गलबार २४ घण्टाको समयदिएर प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नका लागि मार्ग प्रशस्त सुझाएको थियो । त्यसो त प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि एमालेसँग सहमतिपछि प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो ।

वि.सं. २०७९ साल मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गोरखाबाट निर्वाचित हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुष १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएको थियो । प्रतिनिधिसभाको तेस्रो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको तीन महिने सहयात्रा तोड्दै फागुनमा पुनः काङ्ग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सत्ता समीकरण फेरबल गर्नुपुग्नु भएको थियो ।

संसद्को तेस्रो ठूलो दलका नेता प्रचण्डले कहिले काङ्ग्रेस त कहिले एमालेको बैशाखी टेकेर १८ महिनासम्म सरकारको नेतृत्व गर्दै आउनुभएको थियो । नेपाली काङ्ग्रेससँगको सत्ता सहयात्रा तोडेर फागुन २१ गते एमालेसँग सत्ता सहकार्य गर्न पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड दुई पटक एमालेको समर्थन र एक पटक काङ्ग्रेसको साथमा सरकारको नेतृत्व गर्दै आउनुभएको थियो । काङ्ग्रेस र एमालेले साथ छोडेपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्नुभएकोले अब सत्ता बहिर्गमनको सङ्घारमा पुग्नुभएको छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्रीले आफुले संसद्मा विश्वासको मत लिने बताउनुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले—काङ्ग्रेसको गठनबन्धनको सरकार बन्ने निश्चित् भएपछि नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न एमाले–काङ्ग्रेसले आग्रह गरेता पनि प्रधामन्त्री प्रचण्डले संवैधानिक अधिकार प्रयोग गर्दै एक महिनाभित्र संसदबाट विश्वास मत लिने भन्दै तत्काल राजीनामा नदिन बताइसक्नुभएको छ ।

पटक—पटक संसद्मा विश्वासको मतको सामना गर्दै आउनुभएका प्रधानमन्त्रीले यसअघि चार पटकसम्म विश्वासको मत लिइसक्नुभएको थियो । यदी यसो भएमा प्रधानमन्त्रीले पाँचौं पटक संसद्बाट विश्वासको मत लिनु हुनेछ । सत्ता सहयात्री दलले सरकारले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।