काठमाडौँ, असार १९ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । आज बुधबार बिहान ११ बजेदेखि सुरु हुने बन्द सत्रमा प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरेपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको बताइएको छ ।

महाधिवेशनको बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेज प्रस्तुत भएका छन् । सो दस्तावेजमाथिको समूहगत छलफलको निष्कर्ष आएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

उक्त दस्ताबेजबारे प्रतिनिधिहरूलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहभागी छन् । आइतबारदेखि सुरु भएको महाधिवेशन अध्यक्ष र पदाधिकारीसहित २९९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै भोलि २० गते समापन गर्ने कार्यतालिका रहेको छ ।