काठमाडौँ, असार १८ गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बुधबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने काङ्ग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सङ्घीय संसद्का दुई ठूला दल काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार सहमति गरेका हुन् ।

दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारी गर्नेसम्बन्धी सहमतिपत्रमा गएराति हस्ताक्षर भएको हो । सहमतिपत्रमा काङ्ग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ ।