फाइल तस्वीर
काठमाडौँ, असार १८ गते । प्रमुख प्रतिपक्षी एवम् संसद्को सबैभन्दा ठूलो दल नेपाली काङग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ । सोमबार मध्यरातमा नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी सभापति शेरबहादुर देउवाबीच सरकार परिवर्तनका सम्बन्धमा भएको सहमति भए पछि पार्टी सभापति देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा सामेल भएको एमालेले पाँच महिना चार महिना पुरा नहुँदै काङ्ग्रेससँग मिलेर सरकार बनाउने भएपछि काङ्ग्रेस सभापति देउवाले आज मङ्गलबार बिहान ९ बजे आफ्नै निजी निवास बुढानिलकण्ढमा पदाधिकारी बैठक बोलाउनु भएको हो ।

वर्तमान संसदको बाँकी तीन वर्षको अवधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो आधा समय सरकारको नेतृत्व गर्ने र बाँकी आधा समय काङ्ग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने गरी मध्यरातमा सहमति भएको छ ।

नयाँ सरकार गठन गर्न काङ्ग्रेस र एमालेबीच सहमति भइसकेको छ । उक्त सहमतिमा काङ्ग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच हस्ताक्षर समेत भईसकेको छ ।

एक्कासी सरकार परिवर्तन हुनुका पछाडि बेचन झा र एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा पक्राउ पर्नुले काङ्ग्रेस र एमालेलाई एकै ठाउँमा पुर्याउने र सरकार परिवर्तन गर्नेसम्मको अवस्थामा पुर्याएको हो । तर नेताहरु यी कुनालाई यो वास्तविकतालाई ढाकछोप गर्न सरकारको काम गराइप्रति एमालेको असन्तुष्टीलाई मुख्य विषय बनाएका छन् ।

गएराती भएको दुई ठूला पार्टीबीचको सहमतिमा प्रदेशदेखि सङ्घीय सरकारसम्मको भागबण्डा मिलाइएको छ । केन्द्रमा काङ्ग्रेसले गृहमन्त्रलय सहित १० र एमालेले अर्थमन्त्रालयसहित ९ वटा मन्त्रालय लिने सहमति भएको छ भने सात वटा प्रदेशमध्ये बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेस र कोशी, लुम्बिनी र कर्णालीमा एमालेले मुख्यमन्त्री लिने सहमति भएको छ । मधेश प्रदेशको हकमा भने मधेशवादी दलहरुमध्ये कुनै एकलाई समर्थन गर्ने काङ्ग्रेस र एमालेबीच सहमति जुटेको छ ।

यसैगरी यी दुई ठूला पार्टीबीच संविधानलाई संशोधन गर्ने गरी पूर्वन्यायाधीशको संयोजकत्वमा संविधान संशोधन गर्ने समितिसमेत बनाउने सहमति गरेका छन् । संविधान संशोधनका लागि काङ्ग्रेस—एमालेले माओवादी केन्द्र बाहेकका राजनीतिक दलहरुलाई साथ लिनेर जाने बताइएको छ ।

काङ्ग्रेसको पदाधिकारी बैठक पछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ । एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिएमा वर्तमान सरकारले संसदबाट बहुमत पुर्याउन सक्ने अवस्था रहने छैन । सरकारलाई दिएको समर्थन फिर्ता लिने वितिक्कै काङ्ग्रेस र एमालेले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नयाँ सरकार गठनको लागि आज मङ्गलबार नै दावी प्रस्तुत गर्नेछन् ।

बेचन झा र प्रतीक थापाको गिरफ्तारीले ठूलाठूला घोटाला काण्डहरुको पोल खोलिने भयबाट बच्न रातारात काङग्रेस र एमालेको गठबन्धन भएको राजनीतिक वृत्तमा विश्लेषण भएका छन् ।

त्यसोत अब काङ्ग्रेस र एमालेको गठबन्धनमा बन्ने नयाँ सरकारले माओवादीको क्यान्टोनमेन्ट भ्रष्टाचार प्रकरण र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सहकारी प्रकरणविरुद्धको मुद्धाले मुख्य प्राथमिकता पाउने आङ्लन गरिएको छ ।