काठमाडौँ, असार १७ गते । राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्ने भएको हो । आजको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक अन्तर्गत मन्त्रालयगत छलफल हुने बताइएको छ ।

आजको राष्ट्रियसभा बैठकमा वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।