काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज सोमबार बिहान ११ बजे सङ्घीय संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।


प्रतिनिधिसभाको आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सम्बन्धित मन्त्रीहरूले सांसदले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिनुहुने कार्यसूची रहेको छ ।


त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले ‘लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)’ पेस गर्नुहुने कार्यक्रम छ । त्यसैगरी आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।


त्यसैगरी आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथिको दफावार छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।