काठमाडौँ, जेठ २७ गते । प्रतिनिधिसभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २९ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको बैठकमा उपसभामुख इन्दिरा राना, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक महेश बर्तौला, नेपाली काङ्ग्रेसका सचेतक सुशीला थिङ, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित हुनुहुन्थ्यो ।

बैठकमा मुख्य सचिव डा.बैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी हुनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पर्सि जेठ २९ गते मङ्गलबारका लागि बोलाइने भएको छ ।