फाइल तस्वीर
काठमाडौँ, जेठ २४ गते । काठमाडौँको दक्षिणकाली नगरपालिका—८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ । काठमाडौँ–दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको हो ।

शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिँदै उहाँले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेका बताउनुभयो ।

प्रहरीले मृतक पुरुषको सनाखत हुन नसकेको तर महिला भने चाँगुनारायण नगरपालिका– ५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ ।