काठमाडौँ, जेठ २३ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएको बजेटले लिएका लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । आजको बैठकमा भाग लिँदै उहाँहरुले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको हो ।

सांसद महेशकुमार बर्ताैलाले कृषिमा लगानी दशक, पाँच लाख सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरण, प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम आगामी आवका सकारात्मक कार्यक्रम रहेको भन्दै प्रभावकारी कार्यान्वयनमा जुट्नुपर्ने सुझाव दिनुभयो । “आगामी आवको बजेट वक्तव्यमा अर्थमन्त्री वर्षमान पुनले कृषि दशक घोषणा गर्नुभएको छ । कृषि उत्पादन बढाउने अन्य योजना नबनाए यो लक्ष्य कार्यान्वयन हुन गाह्रो छ”, उहाँले भन्नुभयो, “मुलुकका विभिन्न स्थानमा खेती बाँझो छन् । बाँझो खेत प्रयोग गर्नका लागि हरेक स्थानीय तहलाई ‘बाँझोमुक्त पालिका’ घोषणा गर्न र किसानलाई समयमा मल उपलब्ध गराउन आवश्यक छ ।” 

सांसद बर्ताैलाले आगामी आवमा लिइएको लक्ष्यहरु सकारात्मक भए पनि सही रुपमा कार्यान्वयन गर्ने सवालमा अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । 

सांसद प्रभु साहले विप्रेषण छली गर्न हुन्डी कारोबार बढिरहेको भन्दै हुन्डी कारोबार रोक्ने र मुलुकको अर्थतन्त्रमा देखिएको सङ्कट समाधानका लागि आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्न नसकेको बताउनुभयो । “विनियोजन भएको बजेट वक्तव्य हेर्दा देशको अर्थतन्त्रलाई नयाँ उचाइ दिने र  समनाताको अनुभूति दिलाउने गरी आउन सकेन”, उहाँले भन्नुभयो ।