तस्वीरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

काठमाडौँ, जेठ २३ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री मोदीले आज बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको हो । भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनको परिणाम सार्वजनिक भएपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीले मार्ग प्रशस्त गर्न पदबाट राजीनामा दिनुभएको हो ।

राष्ट्रपति मुर्मुलाई बुझाउनुभएको राजीनामा पत्रमा प्रधानमन्त्री मोदीले मन्त्रिपरिषद् समेत विघटन गर्न सिफारिस गर्नुभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्री मोदोको अध्यक्षतामा आज बिहान बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकले १७ औँ लोकसभा विघटन गर्न सिफारिस गरेको थियो ।

भारतीय जनता पार्टीका नेता मोदीले जुन ८ तारिख शनिबारका दिन भारतको तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिनु हुने समाचारमा जनाइएको छ । हालै सम्पन्न निर्वाचनमा भाजपालाई नराम्रो धक्का लागेको छ । भाजपाले बहुमत ल्याउन नसक्दा अब नरेन्द्र मोदीले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउनु पर्ने अवस्था आएको छ । प्रधानमन्त्री मोदी यसअघि लगातार १० वर्षसम्म भारतको प्रधानमन्त्री बन्नुभएको थियो । मोदीलाई प्रधानमन्त्री बनाउन आवश्यक बहुमत जुटिसकेको छ । मोदीको समर्थनमा एनडीए गठबन्धनका सांसदहरूको हस्ताक्षर सङ्कलन भइसकेको समाचार एजेन्सीहरुले जनाएका छन् । जेडीयूका प्रवक्ता केसी त्यागीलाई उधृत् गर्दै पर्सी जुन ७ तारिख शुक्रबार संसदमा एनडीए गठबन्धनमा रहेका सबै सांसदहरूको बैठक हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हालै सम्पन्न भारतीय लोकसभाको निर्वाचनमा भाजपाले दुई सय ४० सिट मात्र जितेको छ । एकमनाको सरकार बनाउनलाई २७२ सिट आवश्यक थियो । यसरी हेर्दा भाजपालाई ३२ सिट कम हुँदा गठबन्धन बनाएर सरकारको नेतृत्व गर्ने अवस्था आयो । भाजपा लोकसभाको सबैभन्दा ठूलो दल भएकाले उसैको नेतृत्वमा भारतमा नयाँ सरकार बन्दैछ ।

यस अघि भाजपाले सन् २०१४ मा भएको निर्वाचनमा दुई सय ८२ सिट र सन् २०१९ मा भएको निर्वाचनमा तीन सय तीन सिटमा विजय प्राप्त गरेको भाजपाले हालै सम्पन्न निर्वाचनमा दुई सय ४० सिट मात्र जित्न पुगेको थियो । मोदीले तेस्रो कार्यकालको प्रधानमन्त्री हुनका लागि गठबन्धनका दलहरूले प्राप्त गरेको ५३ सिटमा भर गर्नुपर्ने अवस्था आएको छ ।

कामचलाउ सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमत जुटाउन सकेको खण्डमा मोदी जवाहरलाल नेहरूपछि तीन कार्यकाल प्रधानमन्त्री बन्ने दोस्रो व्यक्ति हुनुहुनेछ ।