काठमाडौँ, जेठ २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक नभएको टिप्पणी गर्नुभएको छ

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस वर्षको बजेटले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएकोे बताउनुभयो ।

सांसद चौधरीले भन्नुभयो, “कृषिमा लगानी दशक घोषणा गरिएको छ । यसको कार्यान्वयनमा ठोस योजना बनाउन जरुरी छ ।” कृषिमा अग्रिम आय कर लगाइएको उल्लेख गर्दै उहाँले बजेटमा स्थानीय संस्कृति र पर्यटनको विकासका लागि गरिएको व्यवस्था सकारात्मक भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले आर्थिक मन्दिका बेला सार्वजनिक भएको बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको विचार व्यक्त गर्नुभयोे । “एकातिर पुँजीको अभाव छ, अर्कोतिर पुँजी पलायन भइरहेको छ । यसलाई रोक्न ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद डा वीरेन्द्रप्रसाद महतोले बजेटमा सकरात्मक पक्ष रहेका बताउँदै बजेटले समग्र रुपमा सबै क्षेत्रलाई समेटेको उल्लेख गर्नुभयो । उहाँले पनि कार्यान्वयन पक्ष सबल हुनुपर्नेमा जोड दिनुभयो । “ बजेटमा राम्रा पक्ष पनि छन्, कार्यन्वयनका चुनौती पनि छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले बजेटका बारेमा सत्तापक्षले समर्थन र विपक्षीले आलोचना गर्नुपर्छ भन्ने धारणाप्रति असहमति जनाउँदै बजेट रोजगारी सृजना र कृषि विकासमा बढी केन्द्रित हुनुपथ्र्यो भन्नुभयो । साथै उहाँले हिमपातका कारण हिमाली जिल्लामा वैशाख र जेठमा मात्र विकास–निर्माणका गतिविधि सञ्चालन गर्न सकिने यथार्थ सुनाउँदै हिमाली भेगका लागि बेग्लै आर्थिक वर्ष निर्धारण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।