काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । आज आइतबारदेखि असार २० गते बिहिबारसम्म नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना हुने भएको हो ।

सो महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । देशभरिबाट एक हजार ८ सय ४७ जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने बताइएको छ ।

महाधिवेशनमा सहभागी हुन काठमाडौँ उपत्यका बाहिरबाट पनि प्रतिनिधिहरु आइसकेको समाजवादीले जनाएको छ । हालसम्म सम्पन्न भएका नौवटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानिएको सो पार्टीले जनाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए। ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।

एकीकृत समाजवादीले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेका व्यक्ति हुनुपर्ने र उपाध्यक्ष, उपमहासचिव र सचिव बन्न पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेका व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ । पार्टीको केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेका केन्द्रीय सदस्यले मात्र पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ ।
पार्टी विधान अनुसार महाधिवेशनले पार्टीको २ सय ९९ सदस्यीय केन्द्रीय समिति, २१ सदस्यीय पदाधिकारी चयन गर्ने छ । यो महाधिवेशनमा पार्टी अध्यक्षमा माधव नेपालाई पार्टीका महासचिव घनश्याम भुसालले चुनौती दिने सम्भावना देखिएको छ ।