फाइल तस्वीर
काठमाडौँ, असार ११ गते । सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को दशौं राष्ट्रिय महाधिवेशन छ दिन पछि हुँदैछ । पार्टीको महाधिवेशको मिति नजिकिंदै गर्दा पार्टीको नेतृत्व र महत्वपूर्ण पदहरुमा आकाङ्क्षीहरुको ठूलै लर्को लाग्न थालेको छ ।

पार्टीको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल दुवै आकाङक्षी देखिनुभएको छ । त्यसो त वर्तमान महासचिव घनश्याम भूसालले पनि अध्यक्ष पदको आकाङ्क्षा राख्नुभएको सतहमा आएको छ । अध्यक्ष नेपाल आफुलाई आगामी नेतृत्वका लागि कसरी सर्वसम्मत बनाउन सकिन्छ भनेर लाग्नुभएको छ । तर नेता खनालले पार्टीको आगामी नेतृत्व आफुले गर्न पाउनुपर्ने दावी गर्दै आउनुभएको छ ।

अध्यक्ष पछिको कार्यकारी भूमिकामा रहने अर्को शक्तिशाली पद हो, महासचिव । महासचिवका लागि पनि तिव्र प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो साता (असार ५ गते) महाधिवेशनमा आउने प्रतिनिधिहरुको अन्तिम टुङ्गो लगाएको एकीकृत समाजवादीभित्र यतिबेला महत्वपूर्ण पदहरुका लागि आकाङ्क्षीहरु धेरै देखिनुभएको हो । उक्त पदका लागि पनि महाधिवेशनमा बलियो प्रतिस्पर्धा हुने देखिएको छ । यस पदका लागि वर्तमान उपमहासचिवहरु जगन्नाथ खतिवडा, डा. गङ्गाधर तुलाधर, डा.विजय पौडेल, प्रकाश ज्वालादेखि रामकुमारी झाँक्रीलगायतका नेताहरु आकाङ्क्षी हुनुहुन्छ ।

वर्तमान उपमहासचिव खतिवडा अध्यक्ष नेपालका विश्वासपात्र मानिनुहुन्छ । पार्टीमा दुई धार देखिएकाले महाधिवेशनमा दुवै पक्षबाट प्यानल पेश हुन सक्ने नेताहरुको भनाई छ । पार्टीमा सचिवको जिम्मेवारीमा रहनुभएकी रामकुमारी झाँक्री पनि महासचिव पदको बलियो दावेदार मानिनुहुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा जुझारी नेताको छवि बनाउनु भएकी झाँक्री पार्टीभित्र र बाहिर समेत प्रभावशाली नेताको रुपमा दर्ज हुनुहुन्छ । महासचिवका अर्का आकाङ्क्षी हुनुहुन्छ राजेन्द्र राई । कोशी प्रदेशको मुख्यमन्त्रीसमेत भइसक्नुभएका राई अन्यप्रतिपर्धीहरुभन्दा केही कमजोर उम्मेदार मानिनुहुन्छ ।

त्यसो त पार्टीको आसन्न महाधिवेशन दुई वटा धारको प्रतिनिधित्व हुने देखिएको छ । अध्यक्ष नेपाल समूहले जनताको बहुदलीय जनवाद(जबज) लाई मार्गनिर्देश सिद्धन्तसहितको मुल एजेण्डा बनाएको छ भने नेता खनाल समूहले त्यसको जगमा टेकेर समाजवादी धारको वकालत गर्नुभएको छ । महाधिवेशनमा यी दुई धारबीच तीव्र प्रतिस्पर्धा हुने निश्चित् प्रायः छ । एकीकृत समाजवादीको महाधिवेशनमा १८ सय प्रतिनिधि सहभागी हुनेछन् ।