फाइल तस्वीर
जनकपुर, असार १० गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानविन समितिले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रतिवेदन बुझाएको छ । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको रकमान्तरको विषयमा छानविन गर्न गठित विशेष संसदीय छानविन समितिले आज प्रतिवेदन बुझाएको हो ।

एमालेको मागअनुसार वि सं २०८० असार २६ मा सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारले अर्थमन्त्रालयमा ठूलो मात्रामा अनियमित रकमान्तर गरेको विषयमा प्रदेशसभाले समिति गठन गरेको थियो ।

उक्त समितिमा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटा दलका एक–एकजना सांसद छन् । समितिलाई दुई महिनाभित्र छानबिन गरी प्रतिवेदन बुझाउने समयावधि दिएको थियो ।