फाइल तस्वीर
काठमाडौँ, असार १० गते । राष्ट्रियसभाका सांसदहरुले देशका विभिन्न स्थानमा महिला र बालिकामाथि हिंसा एवं बलात्कारका घट्ना बढेकाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद सुमित्रा विसीले अछाममा यही असार ३ गते १६ वर्षीया किशोरीमाथि भएको बलात्कारको घट्नाको भत्सर्ना गर्नुभयो ।

दोषी पत्ता लगाई कारबाही गर्न उहाँले सरकारसँग माग गर्नुभयो । सत्यतथ्य छानबिन गरी गृहमन्त्रीले यस विषयमा सदनमा जवाफ दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद विसीले बाजुरामा पनि १६ वर्षीया किशोरीलाई आत्महत्या गर्न बाध्य पारेको घट्नामा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले संविधानमा स्वास्थ्यको अधिकार मौलिक हकका रुपमा राखिएको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने बताउनुभयो । गाउँमा सिटामोल, एम्जिट, जीवनजल जस्ता आधारभूत औषधिको समेत अभाव भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । छाउपडीप्रथा हटाउन र छाउगोठ भत्काउन देशभरी अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद बामदेव गौतमले भारतको अयोध्यामा रामको मन्दिर बनाउन नेपालबाट लगिएको शालग्रामको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।