फाइल तस्वीर
काठमाडौँ, असार १० गते । नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ । काङ्ग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा यही असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’ आयोजना हुने बताइएको छ ।

प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले गणतन्त्र स्थापनाका लागि गिरिजाबाबुले दिनुभएको अथक योगदान र सङ्घर्षलाई फोटो प्रदर्शनीमार्फत देखाउन खोजिएको बताउनुभयो । काङ्ग्रेसले प्रदर्शनीमा राख्नका लागि आफूसँग भएका दुर्लभ फोटो यही असार १५ गतेसम्म पठाउन सबैलाई अनुरोधसमेत गरेको छ ।

फोटो प्रदर्शनीका दिन विभिन्न विषयमा विज्ञ वक्ताको विमर्श कार्यक्रम गरिने उहाँले बताउनुभयो । प्रदर्शनीको काङ्ग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्नुहुने बताइएको छ ।