काठमाडौँ । सङ्घीय संसद्का दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज आइतबार बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुहुने कार्यसूची रहेको छ । त्यसैगरी आजको बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।


अर्थ मन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथैआर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव मन्त्री पुनले प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

1
2

त्यसैगरी सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्नेछ । बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।