फाइल तस्वीर
बाँके, असार ८ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले गत जेठ महिनामा एक करोड ३१ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली गरेर ल्याइएको सामान बरामद गरिएको हो ।

प्रहरीले दुई लाख ५८ हजार रुपैयाँ बराबरको भारतबाट गैरकानुनीरुपमा नेपाल ल्याएको करिब दुई क्विन्टल बोइलर खुकुरा र एक हजार आठ सय चल्ला बरामद गरेको छ । जेठमा प्रहरीले एक हजार सात सय १३ सवारी चालकलाई कारबाही गरेको छ । उनीहरुबाट १४ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रवक्ता डाँगीले बताउनुभयो ।

यसैगरी प्रहरीले एक सय २१ मोटरसाइकल र स्कुटर लिलामी गरेको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ भने चोरी भएका नौ मोटरसाइकल फेला पारेको छ । यस्तै स्कुटर चोरीमा संंलग्न दुई जनालाई स्कुटरसहित नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता डाँगीले बताउनुभयो ।