फाइल तस्वीर
रसुवा, असार ७ गते । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो ।

चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ ।

राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उहाँले बताउनुभयो । जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख रुपैयाँ असुली भएको छ ।