फाइल तस्वीर
पाल्पा, असार ५ गते । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले पाल्पाका तीनवटा विद्यालयलाई अक्षयकोष स्थापना गर्न एक–एक लाखका दरले रकम प्रदान गरिएको छ । रामपुर नगरपालिका वडा नं ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले मङ्गलबार उक्त रकम प्रदान गरेको हो ।

जेहेन्दार, विपन्न विद्याथीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो । रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा एक–एक लाख रुपैयाँका दरले अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताउनुभयो । उहाँकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।