फाइल तस्वीर
झापा, असार ३ गते । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा ७० करोड ९८ लाख १३ हजार आठ सय ९१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । ११ हजार आठ सय ६१ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो ।

चालु आवमा जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताउनुभयो । “गत आव २०७९/८० को ११ महिनाको तुलनामा चालु आवमा २० करोड ८७ लाख ९३ हजार छ सय १४ रुपैयाँले राजस्व सङ्कलन बढेको छ,” उहाँले भन्नुभयो । गत आवको सोही अवधिमा ५० करोड एक लाख २० हजार दुई सय ७७ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

चालु आवमा सेवा करबापत छ करोड ८६ लाख ७० हजार दुई सय ८९ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर ४३ करोड ४३ लाख ७८ हजार तीन सय ५५ रुपैयाँ, छुटबापत पाँच करोड ७० लाख ६३ हजार सात सय ४५ रुपैयाँ, डोर सुविधा शुल्क एक लाख ६५ हजार रुपैयाँ सङ्कलन भएको छ । पूँजीगत लाभकर २६ करोड ३५ लाख ५५ हजार तीन सय ८५ रुपैयाँ र विलम्ब शुल्कबापत एक लाख आठ हजार रुपैयाँ छ ।