काठमाडौँ, असार ३ गते । सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबिच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। इस्लाम धर्मावलम्बीको पर्व बकर इद ९अल अजहा० को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो भन्दै बकर इदले आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा टेवा पुग्ने बताउनुभएको हो ।

सभामुख घिमिरेले नेपालको संविधानले सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण, धार्मिक सांस्कृतिक स्वतन्त्रताको अधिकार प्रदान गरेको उल्लेख गर्नुभएको छ । सभामुख घिमिरेको शुभकामना सन्देशमा “सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको हाम्रो देशमा बकर इदले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्द्धन गरी मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु,” भनिएको छ ।

नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी रहेको छ । हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक–फरक चाडपर्व छन् । हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन् । उहाँले सनातनदेखि आस्थाको धरोहरको रूपमा रहेको हाम्रा चाडपर्व र त्यस चाडपर्वमा देखिने विविधताभित्रको एकता नेपालीपनको छुट्टै विशेषतायुक्त संस्कृति र संस्कार भएको बताउनुभयो ।

सभामुख घिमिरेले बकर इद इस्लाम समुदायको सबैभन्दा महत्त्वपूर्ण र विश्वभरका मुस्लिमले मनाउने दोस्रो प्रमुख इस्लामिक चाड भएको भन्दै उक्त पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको छ ।रासस