धनगढी, असार १ गते । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ । आज शनिबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्षको लागि साढे ३१ अर्बको बजेट प्रस्तुत गर्नुभएको हो ।

मन्त्री पालले आज सार्वजनिक गर्नुभएको बजेट अनुसार चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार बजेट विनियोजन गर्नुभएको छ ।

यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरिएको छ । मन्त्री पालले चालु आर्थिक वर्षको भन्दा दुई अर्ब बढिको बजेट ल्याउनुभएको छ ।

आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजश्व परिचालन एक अर्ब ६० लाख १५ हजार, सङघीय सरकारको राजश्व बाँडफाँडतर्फ ९ अर्ब ९९ करोड, सङ्घीय रोयल्टीबाट चार करोड ४० लाख, वित्तीय समानीकरण अनुदान आठ अर्ब ७२ करोड २७ लाख, चालु वर्षको बजेटबाट वचत हुने ६ अर्ब १५ करोड, सङ्घीय सरकारले दिने सर्शत अनुदानतर्फ तीन अर्ब १३ करोड, समपूरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड हुने अनुमान गरिएको छ ।