फाइल तस्वीर
जनकपुरधाम, असार १ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्नेमा जोड दिनुभएको छ । मधेस प्रदेशस्तरीय संविधान कार्यान्वयन सन्र्दभमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनद्वारा जनकपुरमा आयोजित ‘स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तक्र्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै नेता डा कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताउनु भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको बताउनुहुँदै ‘अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता छ’ भन्नुभयो । पटक–पटक सङ्घीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उहाँको तर्क थियो । नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सोही कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले राजनीति गर्नेलाई कानुनको ज्ञान आवश्यक रहेको छ भन्नुभयो । अर्का केन्द्रीय सदस्य डा चन्द्रमोहन यादवले मिटरब्याजसम्बन्धी कानुन सच्याउनुपर्ने माग गर्नुभयो । सांसद रामकृष्ण यादवले काङ्ग्रेस पार्टीमा विचलन आउन नदिन नेता तथा कार्यकर्ता एकजुट हुनपर्छ भन्नुभयो ।

कांग्रेस मधेस प्रदेशका सभापति एवं प्रदेश सभासदस्य कृष्ण यादवले मधेसलाई राज्यबाट उपेक्षित बनाउन नहुने धारणा राख्नुभयो । एसोसिएसन अध्यक्ष सीताराम केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेस प्रदेश सभासदस्य श्याम पटेल, वरिष्ठ अधिवक्ता यदुनाथ खनाल , अधिवक्ता विनोद शर्मा एवं सुधीर कर्णले राजनीतिक स्थायित्वका लागि दलहरुबीचमा एकता र सहकार्य आवश्यक छ भन्नुभयो । सो कार्यक्रममा संविधानविद् काशीराज दाहालले मधेस प्रदेशका पालिकाका प्रमुख , उपप्रमुख तथा प्रतिनिधिलाई स्थानीय तहमा कानुनी र वित्तीय सुशासनबारे प्रशिक्षण प्रदान गर्नुभएकोे थियो ।