फाइल तस्वीर
भक्तपुर, असार १ गते । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा काङ्ग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उहाँले आगामी निर्वाचनमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताउनुभयो ।

महामन्त्री शर्माले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाउनुभयो । नेपाली काङ्ग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै उहाँले काङ्ग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली काङ्ग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले काङ्ग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको बताउनुभयो ।

प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निःसहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा पाँच लाख रुपैयाँ थपिने जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पुर्‍याएको योगदानको चर्चा गर्नुभयो ।

नेपाली काङ्ग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति गणेशमान चक्रधरले आफ्नो कुरा स्पष्ट राख्ने निडर जोन्छेजस्तो व्यक्तित्व अहिले पार्टीमा कोही नभएको बताउनुभयो । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं भक्तपुरका पूर्वसभापति मदकृष्ण श्रेष्ठले माओवादीको कडा आलोचक भएकै कारण जोन्छेलाई माओवादीले गोली हानेका बताउनुभयो ।

नेपाली काङ्ग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति तिलकप्रसाद कायस्थ, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका महासचिव जगन्नाथ कार्कीलगायतले नेपाली काङ्ग्रेसका लागि जोन्छेले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा मेधा माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई १२ हजार रुपैयाँ र सुवर्णेश्वर आधारभूत विद्यालयका दुई छात्रालाई जनही आठ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो ।