फाइल तस्वीर
ताप्लेजुङ, जेठ ३२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गए राति पहिरोमा परी घाइते भएका बुबा र छोरीको उद्धार गरिएको छ । फुङलिङ नगरपालिका–१० मित्लुङ हाइड्रोपावर सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घाइतेको उद्धार गरेको हो ।

घाइते ४० वर्षीय युगेन लिम्बू र उहाँकी तीन वर्षीया छोरी सिंवालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्ताल भर्ना गरिएको छ । पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा तथा जुम्ल्याहा दिदीबहिनी १० वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

मृतकहरु फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्राका बुबाआमा र बहिनी हुन् । उनीहरु घरमा सुतिरहेका अवस्थामा गएराति करिब १ः३० बजे पहिरोमा परेका थिए । ढुङ्गा र माटोले बनेको जस्तापाताको छानो भएको दुई तलेघर माथिबाट झरेको पहिरोले पुरिएको थियो ।