तस्वीरमा माधवकुमार नेपाल अध्यक्ष, नेकपा (एकीकृत समाजवादी) ।


पोखरा, जेठ ३० गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थिरता, परिवर्तन र सुशासनसँग जोडिएको अर्थतन्त्र बलियो बनाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष नेपालले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले केही वर्षदेखि थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको विकल्प नभएको बताउनुभयो । लोकतन्त्र समाप्त पार्न खोज्ने शक्ति सक्रिय भइरहेको अवस्थामा सरकारले अर्थतन्त्र बलियो बनाएर जनताको आयस्रोत वृद्धि गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

अर्थतन्त्रलाई बलियो बनाउने कार्यमा प्रधानमन्त्रीले अर्थतन्त्रका विज्ञ र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल तथा राय सुझाव लिएर अगाडि बढ्नसमेत नेता नेपालले सुझाउनुभएको छ । “राजनीतिक स्थिरताका लागि सरकारले मुलुकका देखिएका प्रमुख समस्या पहिचान गरी जनतामा परिवर्तनको महसुस दिलाउन सक्नुपर्छ” भन्नुहुँदै अध्यक्ष नेपालले “प्रतिगामी शक्तिहरू अझै पनि जीवितै रहेकाले उनीहरूलाई परास्त गर्दै अगाडि बढ्नु पर्छ ”— भन्नुभयो ।

नेता नेपालले आफ्नो पार्टीको उद्देश्य लोकतन्त्रको हितमा सहकार्य गर्दै अगाडि बढ्ने भएकाले प्रधानमन्त्रीकै लागि आफूले मरिहत्ते नगरेको जिकिर गर्दै ‘पार्टीको दशौँ महाअधिवेशन असारको पहिलो हप्ता काठमाडौँमा हुने बताउनुभयो । अध्यक्ष नेपालले महाधिवेशन तयारीका लागि २७ सदस्यीय मस्यौदा समितिसमेत गठन गरिएको जानकारी गराउनुभएको थियो ।

पार्टी फुट्ने बारे सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक, समाजवाद र पार्टी विधानसम्बन्धी मूल विषय बनाएर छलफल हुने बाहिर चलेको हल्ला झैँ एकीकृत समाजवादी पार्टी फुट्ने कुनै सम्भावना नरहेको दाविसमेत गर्नुभएको छ ।