फाइल तस्वीर
धनुषा, जेष्ठ ३० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । जनकपुरमा भएको राष्ट्रिय महाधिवेशनबाट यादव पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

मधेसी जनअधिकार फोरमको नामबाट मधेसवादी दलको रुपमा उदाएको सो पार्टी स्थापनाकालदेखि एकता र टुटफुुट गर्दै यहाँसम्म आइपुगेको छ । निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दिने समयसम्म यादव बाहेक अरु कसैले पनि अध्यक्षमा उम्मेदवारी नदिएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको जसपा नेपालले जनाएको छ ।

अध्यक्षबाहेकका पदहरुमा निर्वाचन हुने देखिएको छ । यद्यपि अहिलेसम्म कुन पदमा कसकसले उम्मेदवारी दिनुभएको छ भन्ने नामहरु सार्वजनिक भइसकेको छैन । मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८ः३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन् । त्यसमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एकजना चयन हुनेछन् ।