तस्वीरमा राष्ट्रियसभा बैठक ।


काठमाडौँ, जेठ २९ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १:१५ बजे बैठक बस्ने भएको हो ।


संसद् सचिवालयद्वारा जारी सूचना अनुसार राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९/०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी सरकारका अर्थमन्त्री वर्षमान पुनले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने तथा ‘सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयक, २०८० पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्तुत गर्दै उक्त संशोधनलाई सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

r3566