तस्वीरमा राष्ट्रपति रामचन्द्र पौडेल ।


काठमाडौँ, जेठ २९ गते । राष्ट्रपति रामचन्द्र पौडेल आज स्वीट्जरल्याण्ड जाँदै हुनुहुन्छ । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आज मङ्गलबार साँझ जेनेभा प्रस्थान गर्नलाग्नु भएको हो ।

राष्ट्रपतिले प्रमुख वक्ताका रूपमा यही जेठ ३१ गते बिहीबार अधिवेशनको अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका राष्ट्रपति पौडेलले भोलि ३० गते बुधबार स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलो पटक हो ।

राष्ट्रपति पौडेल आगामी असार १ गते शनिबार जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनुहुनेछ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुहुनेछ । राष्ट्रपति पौडेल असार ५ गते बुधबार स्वदेश फर्कनुहुनेछ ।