तस्वीरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।


काठमाडौँ, जेठ १८ गते । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । पार्टीका पोलिटब्युरो सदस्य देवशङ्कर पौडेलले लेख्नुभएको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तक विमोचन गर्न आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताउनुभएको हो ।

समाज भ्रष्टीकरणमा फस्दै गएपछि जनतामा आएको निराशाले राजनीतिक व्यवस्थाप्रति खतरा रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष नेपालले जनताको विश्वास र भरोसालाई कायम राख्न समाजलाई भ्रष्टीकरणबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।पूर्वप्रधानमन्त्री नेपालले अहिलेका अधिकांश नेता तथा कार्यकर्ता भ्रष्टाचारको दलदलमा फस्दै गएका छन् भन्दै चिन्ता प्रकट गर्नुभयो ।

मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त जनअधिकारलाई सुरक्षित गर्न देश र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्नेमा जोड दिंदै अध्यक्ष नेपाल मुलुकको राजनीति अहिले सहज ढङ्गले अगाडि बढ्न नसकेको र राजनीति सहज बनाउन तीनै तहका सरकारले यथाशीघ्र नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

विमोचित पुस्तकले पाठकलाई नयाँ ज्ञान दिने विश्वास व्यक्त गर्नुहुँदै अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण तथा तार्किक बहसका लागि सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने सुझाव दिनुभएको थियो ।