तस्वीरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी ।


काठमाडौँ, जेठ १७ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एसिड पीडित सांसद विन्दवासिनी कंसाकारले अदालतको फैसला बमोबिजम पाउनुपर्ने रकमको प्रक्रिया फाइल आगाडि बढेको बताउनुभएको छ ।

सङ्घीय संसद् प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिमा आज बसेको छलफल कार्यक्रममा मन्त्री गिरीले एसिड पीडित सांसद कंसाकारले चाँडो न्याय पाउनुपर्ने बताउनुभयो । नेपालमा एसिड आक्रमणबाट पीडितको क्षतिपूर्ति सम्बन्धमा गरिएको छलफल कार्यक्रममा उहाँले राज्यले यस्तो संवेदनशील विषयमा तुरुन्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “म यस विषयमा गम्भीर छु, जति सक्दो छिटो न्याय दिलाउन कोसिस गर्नेछु ।”

सांसद् विन्दवासिनीले पीडित भएको ११ वर्षसम्म पनि अदालतले फैसला गरेअनुसारको क्षतिपूर्ति पाउन नसकेको गुनासो गर्नुभयो । उपचारका क्रममा परिवारले घरबारै बेचेको र आफ्नो परिवारको बिचल्ली भएको उल्लेख गर्नुभयो । छलफलका क्रममा बैठकमा उपस्थित सांसदहरुले पीडितलाई क्षतिपूर्ति दिन ढिलासुस्ती गर्न नहुने बताए ।

सांसद शान्ति विकले कानुन बनाउने थलोमै भएर पनि पीडित सांसदले समयमै न्याय पाउन नसकेको गुनासो गर्नुभयो ।

सांसद रोशन कार्कीले राज्यले पीडित सांसद विन्दवासिनीलाई क्षतिपूर्ति तुरुन्तै दिनुपर्ने बताउनुभयो ।

अधिवक्ता यज्ञमणी न्यौपानेले एसिड घटनाका कानुनी पक्षबारे जानकारी गराउनुभएको थियो । फैसला कार्यान्व्यन निर्देशनालय एवं पीडित राहत कोषका सदस्य सचिव सूर्यवंश शर्मा कँडेलले चालू आर्थिक वर्षमा कोषबाट ६९ पीडितले रु ९८ लाख २५ हजार क्षतिपूर्ति प्राप्त गरेको जानकारी दिनुभयो । कोषमा रकम अभाव भएको उहाँले बताउनुभयो ।

महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले एसिड पीडित सांसदले चाँडो न्याय पाउनुपर्ने बताउनुभयो ।