तस्वीरमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ।


काठमाडौँ, जेठ १६ गते । सत्ता सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले हिजो मङ्गलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट जनतामा आशाको सञ्चार गराउने किसिमको भएको बताउनुभएको छ

रासस केन्द्रीय कार्यालयमा आज समसामयिक विषयमा संवाद गर्दै पूर्वप्रधानमन्त्री खनालले विगतमा बजेट जनताका आमूलपरिवर्तनका अपेक्षा र चाहनालाई सम्बोधन नगरी आउने गरेकामा यस पटक भूमिसुधार, कृषि क्रान्ति, सहकारीकरण, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राथमिकतासहित आएको प्रतिक्रिया दिनुभयो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षामान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको थियो । सम्मानित नेता खनालले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रम र बजेटले गरिबी उन्मूलन, रोजगारी सिर्जना र युवाको विदेश बहिर्गमन रोक्ने कार्यक्रम ल्याएको छ । यसमा केही नवीनता छ । बजेटले सकारात्मक एवं आशा सञ्चार गरेको छ ।”

उहाँले आफूहरु राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको उल्लेख गर्दै बजेटमा भएका राम्रा कार्यक्रमको कार्यान्वयन पक्षको सफलतामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।