काठमाडौँ, जेठ १५ गते । सरकारले गणतन्त्र स्थापनापश्चात् मुलुकमा स्रोत र साधनको वितरण समानतातर्फ उन्मुख भएको जनाएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा यस्तो उल्लेख छ ।

“गणतन्त्र स्थापनापश्चात् मुलुकमा स्रोत र साधनको वितरण समानतातर्फ उन्मुख हुँदै गएको छ, नेपाल जीवनस्तर सर्वेक्षण २०६०÷६१ मा असमानता गणना गर्ने जिनी सूचकाङ्क शून्य दशमलव ४१ रहेकोमा पछिल्लो सर्वेक्षणमा सुधार भई शून्य दशमलव ३० कायम भएको छ”, वक्तव्यमा उल्लेख छ, “२०६५ सालमा निरपेक्ष गरिबी ३० दशमलव आठ प्रतिशत रहेकोमा हाल घटेर २० दशमलव तीन प्रतिशत पुगेको छ ।”

यसैगरी मानव विकास सूचकाङ्क शून्य दशमलव ५०५ बाट बढेर शून्य दशमलव ६०२ कायम भएको र नेपालीको औसत आयु ६० दशमलव सात वर्षबाट बढेर ७१ दशमलव तीन वर्ष पुगेको बजेट वक्तव्यमा उल्लेख छ । बजेट वक्तव्य अनुसार साक्षरता दर ५८ प्रतिशतबाट बढेर ७६ दशमलव दुई प्रतिशत र आधारभूत खानेपानीको पहुँच ४५ बाट बढेर ९७ प्रतिशत जनसङ्ख्यामा पुगेको छ ।