फाइल तस्वीर
काठमाडौँ, जेठ १५ गते । आज नेपालमा सङघात्मक राज्य प्रणाली अर्थात् सङ्घीय लोकतन्त्र स्थापना भएको दिन । दुई सय ३८ वर्षे निरङ्कुश राजतन्त्रको अवशान भै गणतन्त्र स्थापना भएको स्वर्णीम दिनमानि १७ औँ गणतन्त्र दिवस मनाइँदैछ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सञ्चालन गरेको दश वर्षे जनयुद्ध र नेपाली काङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमालेसहित तात्कालिन सात दलको संयुक्त जनआन्दोलनको फ्युजनबाट स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको छ । यसै सन्दर्भमा आज देशकै राजधानी काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा १७ औं गणतन्त्र भव्यताका साथ मनाइँदैछ ।

सङ्घात्मक राज्य प्रणाली अन्तर्गतका तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउँदैछन् । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष आजकै दिन अर्थात् जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । सरकारले यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

तत्कालीन नेकपा (माओवादी) को जनयुद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्ता जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना थियो । त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।

आज गणतन्त्रको दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिनुभएको छ ।