फाइल तस्वीर
काठमाडौँ, जेठ १५ गते । सर्वसाधारण नागरिकले सहकारीमा जम्मा गरेको रकम हिनामिना र ठगी गरेको विषयमा छानविन गर्न बन्न लागेको संसदीय छानविन समितिको कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दैछ । हिजो सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित काङ्ग्रेसका नेता र कार्यदलका सदस्यहरुको संयुक्त बैठकले कार्यादेशमा सहमति बनेकोले अन्तिम रूप दिन बैठक बस्ने भएको हो ।

कार्यदलको बैठक आज मङ्गलबार बिहान ११ बजे बस्दैछ । कार्यदलले संसदीय छानविन समितिको कार्यादेशलाई अन्तिम रूप दिएर हस्ताक्षर गर्ने बताइएको छ । कार्यादेशमा हस्ताक्षर भएपछि विगत अढाई महिनादेखि अवरुद्ध हुँदै आएको संसद्को गतिरोध पनि अन्त्य भै बजेट अधिवेशन सुचारु हुने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिना र ठगीको आरोप लगाउँदै त्यसको लागि संसदीय छानविन समिति गठनको माग गर्दै आएको थियो । सरकार र प्रतिपक्षी दलबीच छानविन समिति बनाउन सहमत भएता पनि समितिको क्षेत्राधिकार र कार्यादेशको विषयमा सहमति जुट्न सकेको थिएन ।

काङ्ग्रेसले संसदीय छानविन समितिको कार्यादेशमा सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने र उहाँ सम्बद्ध कम्पनीहरुको नाम किटान गरेर राख्नुपर्ने अडानले संसद् अवरुद्ध हुँदै आएको थियो । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भद्र सहमतिलाई आज बस्ने कार्यदलको बैठकले मूर्त रुप दिने बताइएको छ ।