फाइल तस्वीर


काठमाडौँ, जेठ १४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएको छ । सहकारी ठगी र रकम हिनाविना सम्बन्धमा संसदीय छानविन समितिको कार्यादेशबारे आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निष्कर्षविहिन भए लगतै काङ्ग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको हो ।

पदाधिकारी र पूर्वपदाधिकारीको बैठकबाट पार्टीको एकल धारणा बनाउन पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको पार्टीका सहमहामन्त्री जीवन परियारले जानकारी गराउनुभएको छ ।

सहकारी ठगी प्रकरणमा संलग्न भनिएका रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा राख्नुपर्ने अडान राख्दै काङ्ग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । संसदीय छानविनको माग गर्दै आएको काङ्ग्रेसले सरकार छानविन समिति बनाउन सहमत भएता पनि उसले पुनः कार्यादेश गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानमा कायम छ ।

कार्यादेशमा सत्ता पक्ष र प्रतिपक्षी दल काङ्ग्रेसको कुरा नमिलेको विषय भनेकै गृहमन्त्रीको नाम उल्लेख गर्ने र नगर्ने भन्ने मै अड्किएको छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने र प्रतिपक्षी दल काङ्ग्रेस नाम नै किटान गर्नुपर्छ भन्ने अडानमा छन् । दुवै पक्ष आ–आफ्नो अडानमा रहेकाले कार्यादेशमा सहमति जुट्न सकेको छैन ।

संसदीय छानविन समितिको क्षेत्राधिकार र कार्यादेशमा सहमति खोज्न दलहरु आन्तरिक छलफलमा जुटेका छन् । कार्यादेशमा सहमतिका लागि आजै अपरान्ह सत्तापक्ष र प्रतिपक्षी दलबीच बैठक बसेर टुङ्गोमा पुग्ने बताइएको छ ।